भैलोमार्फत् सरसफाई सन्देश

Nov. 19, 2021, 8:04 a.m.

सुर्खेत । यो नाला साझा हो भैलो, यो सडक साझा हो भैलो ।
पसलको फोहोर डस्बिनमा फालौंँ , सभ्यताको परिचय दिउँ,
फोहोरले नाला भरिन्छ, थुनिएको नालाले बाढि आई मरिन्छ ,
बटुवा, चालक अनी व्यापारी, सभ्यताको परिचय दिनुहोस् सफा गरि,
थैलोमा फोहोर राखे गाडि लिन आउँछ, जथाभाबी फोहोर फाले रोगले सताउँछ,



मंगलबार दिउसो करिब तिनबजे वीरेन्द्रनगर नगरपालिका ६ को मंगलगढि चोकमा मादल र साउण्ड सिस्टम सहितको समुह भैलो खेल्दै थियो । हरिया पोशाकमा सडकमा भैलो खेल्न आएका अरु कोहि नभई अन्तरनिर्भर समाज सुर्खेतका सरसफाई स्वयम्सेवक थिए ।

उनीहरुले भैलोमार्फत् भन्दै थिए फोहोरलाई व्यवस्थापन गर्नुहोस् , सभ्यताको परिचय दिनुहोस् । स्थानिय व्यापारी, बटुवा र सवारी चालकलाई लक्षितगरि आयोजना गरिएको भैलो कार्यक्रम मंगलगढि चोकबाट सुरु भई वीरेन्द्रचोक गई सकिएको थियो । सो क्षेत्रमा पर्ने सबै पसलहरुमा स्वयम्सेवकहरुले भैलो मार्फत पसल अगाडि फोहोर नफाल्न र फालेको फोहोरलाई उठाउन आग्रह गरेका थिए ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएको तर सरसफाईको दृष्टिले लाजमर्दो स्थिती भएकोले भैलोमार्फत जनचेतना जगाउनका लागि एकदिने भैलो कार्यक्रम आयोजना गरिएको हो । अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले संस्थाका तर्फबाट ६ महिनाका लागि सरसफाई स्वयमसेवक समेत राखिएको जानकारी दिए ।

आगामी ६ महिनासम्म सञ्चालन हुने अभियानमा ३० जना सफाई स्वयमसेवक परिचालन गरिएको छ ।

नगरका विभिन्न टोलविकास संस्थाहरुसंग समन्वय गरी हप्तामा ६ दिन निरन्तर सफाई स्वयमसेवकले सरसफाई गर्ने उनले बताए । सफाई स्वयमसेवकसहित स्थानिय नागरिक, टोलविकास संस्था र राजनितीक दलका अगुवा साथै जनप्रतिनिधी समेत अभियानमा जोडिन सक्ने उनले बताए ।

उनले आफ्नो फोहोर आँफै व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिनका लागि स्वयमसेवक व्यवस्था गरिएपनि फोहोर राज्यले मात्रै व्यवस्थापन गर्नुपर्छ भन्ने नागरिकको सोच भएको गुनासो गरे । शाहीले वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनका लागि कडा भन्दा कडा कानुन निर्माण नगरेसम्म समस्या समाधान नहुने बताए । सफाई अभियानमा यु.एन्.डि.पिको सहयोग समेत रहेको छ ।

Click here to download the file